विशेष समितिको बैठक केहीबेरमा सुरु हुँदै
संविधानको प्रारम्भिक मस्यौदाको बारेमा जनताले दिएको सुझाव समेटेर प्रतिवेदन तयार गर्ने बारेमा छलफल गर्न विशेष समितिको बैठक आज पनि बस्दैछ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक अहिले केहीबेरमा सिंंहदरवारमा सुरु हुँदैछ । बैठकमा शीर्ष नेता र कार्यदलमा रहेका अरु नेताको पनि सहभागिता रहने काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले सीआईएलाई जानकारी दिनुभयो । उहाँका अनुसार सीमांकनसहितको संविधान जारी गर्ने निष्कर्षमा पुगेका दलहरुबीच आजै साँझसम्ममा प्रतिवेदन तयार गर्नेगरी गम्भीर छलफल भइरहेको छ । ४ दिनको समयसीमा पाएको संवाद समितिले प्रतिवेदन तयार पार्न नसकेपछि फेरि शीर्ष नेता सम्मिलित विशेष समितिमा छलफल भइरहेको छ । हिजो बसेको विशेष समितिको बैठकले साउन भित्रै नयाँ संविधान जारी गर्ने निस्कर्ष निकालेको थियो । संविधानको पहिलो मस्यौदामा जनताका सुझावका आधारमा संघीयताको सीमाङ्कन, शासकीय स्वरुप, नागरिकताको विवादमा सहमति जुटाउने बारेमा आज दिनभर छलफल हुने नेताहरुले बताएका छन् ।