Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

पिता र पतिको लडाइँमा चेपिएकी अञ्जना

पिता र पतिको लडाइँमा चेपिएकी अञ्जना

महाभारत युद्धमा रानी कुन्तीलाई जति धर्मसंकट सायदै कसैलाई थियो। कुरुक्षेत्र रणभूमिमा एकातिर अर्जुन थिए, अर्कातिर कर्ण। दुवै उनकै छोरा। जसको रगत बगे पनि मुटु उनकै चिरिने।

यसपालि कांग्रेस महाधिवेशन त्यस्तै धर्मसंकट बनेर आयो, अञ्जना केसी थापाको जिन्दगीमा। चुनावी मैदानमा एकातिर पति थिए, अर्कातिर पिता। जो हारे पनि चित्त उनकै दुख्ने।

एकनास बितिरहेको सरल जीवनमा एक्कासि झरेको चट्याङले अञ्जना निकै दिन छट्पटिइन्। फागुन २३ गते आइतबार चुनाव हुँदै थियो। अघिल्लो दिनै अञ्जनाले आफ्ना पिता अर्जुननरसिंह केसी र पति गगन थापाको तस्बिर राखेर धेरै दिनदेखिको मनको उफान फेसबुकमा पोखिन्:

'तिमीहरू दुवै जना धेरैले माया गरेका मान्छे हौ। त्यसैले तिमीहरु यो उम्मेदवारीको उपयुक्त हकदार पनि छौ। यसको कारण तिमीहरुको देशप्रतिको निष्ठा तथा नेपालको उज्यालो भविष्यका लागि तिमीहरुको दृष्टिकोण हो। मलाई यो निवार्चनको नतिजा के हुन्छ थाहा छैन तर आज म तिमीहरु दुवै जनाको सर्वोत्तम नतिजाको लागि प्रार्थना गर्छु र सधैं गरिरहने नै छु।'

राजनीतिक व्यक्ति सामाजिक जीवनमा कति व्यस्त रहन्छ र व्यक्तिगत जीवनमा परिवारबाट कति टाढिन्छ भन्ने अञ्जनाले सानैमा बुझेकी थिइन्। 

उनका पिता परिवारको निम्ति कमै समय दिन भ्याउँथे। चुनाव बेला होस् वा मन्त्री हुँदा, उनी परिवारभन्दा नेता–कार्यकर्ताबीच नै व्यस्त रहन्थे। पार्टीको महाधिवेशन आउँदा त झन् खानपिउनै नभ्याउने गरी व्यस्तता बढ्थ्यो। उनी लखतरान भएर अबेर घर आइपुग्थे, कसैसँग केही नबोली लुसुक्क सुत्थे। र, भोलिपल्ट बिहान माफी माग्दै भन्थे, ‘तिमीहरूसँग बस्न नपाएको कत्ति भयो है?’

नेताहरूको यस्तो कमजोरीसँग परिचित हुँदै हुर्केबढेकी अञ्जनाले अन्ततः अर्का उत्तिकै व्यस्त नेतालाई आफ्नो जीवनसाथी बनाइन्।

२०६२/०६३ को जनआन्दोलन बेला उदीयमान युवानेता गगनको भाषणबाट प्रभावित भएकी थिइन् अञ्जना। त्यही क्रममा एउटा ‘ब्लफ’ मिसकलले उनीहरूको प्रेम सम्बन्ध गाँसियो।

पहिलोपटक यो सम्बन्धबारे थाहा पाएपछि पिता अजुर्ननरसिंहले भनेका थिए, ‘उ सबै हिसाबले राम्रो केटा हो, उसको राजनीतिक भविष्य पनि एकदमै राम्रो छ, तर तिमी विचार गर। उसँग बिहे गर्दा तिमीले आफ्नो निजी इच्छा,रहर र सपना त्याग्नुपर्ने हुन सक्छ। मेरो हालत देखेकै छौ, मैले राजनीतिमा लागेर कहिल्यै तिमीहरूलाई समय दिन सकिनँ।’

अञ्जना चुप लागिन्।

त्यतिबेला उनलाई थाहा थिएन, आफ्नो यो प्रेम–कामनाले कुनै दिन यति ठूलो भावनात्मक हिसाब माग्नेछ।

‘सायद यही मेरो डेस्टिनी (भाग्य) थियो,’ उनले भनिन्।

कांग्रेसको अघिल्लो महाधिवेशनबाट हो, अञ्जनाले आफ्ना पिता र पतिको राजनीतिक करिअरलाई नजिकबाट हेरेकी। अर्जुननरसिंह त्यतिबेलै महामन्त्रीमा उठ्ने कुरा थियो, पाएनन्। दुवै केन्द्रीय सदस्यमा चुनाव लडे।

‘मतगणनामा खुबै रमाइलो भयो,’ अञ्जनाले पाँच वर्षअघिको घटना सम्झँदै भनिन्, ‘घरि बाबाले धेरै मत पाउनुहुन्थ्यो, घरि गगनले। आखिर दुवै केन्द्रीय सदस्यमा विजयी भए, गगनको त सर्वाधिक मत आयो।’

यसपालि भने दुवै महामन्त्रीमा भिड्दा उनलाई उत्सुकताभन्दा तनाव बढी थियो।

उनलाई आफ्ना बाबा महामन्त्रीमा भिड्दैछन् भन्ने पहिल्यै थाहा थियो। गगन पनि उठ्दैछन् भन्ने त सोचेकै थिइनन्। चुनाव हुनु छ महिना अघिबाटै गगन जिल्ला भ्रमणमा व्यस्त थिए। त्यसबीच घर आउने कार्यकर्ता तथा साथीभाइले गगन पनि महामन्त्रीमा उठ्न खोज्दैछन् भन्ने संकेत दिए। सुरुमा त उनले खासै वास्ता गरिनन्। गगनले नभनेसम्म उनलाई पत्यार पनि भएन। एकदिन गगन आफैं आएर अञ्जनालाई महामन्त्रीमा उठेको जानकारी दिए।

उनीसँग जवाफी शब्दै थिएन।

‘बाबाले राजनीति सुरु गर्दा म सानै थिएँ। उहाँको राजनीतिक जीवनको आरोह–अवरोह मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘राजनीतिमा रुचि नभए पनि उहाँ महामन्त्री पदको हकदार हुनुहुन्छ भन्ने म महसुस गर्थें। उहाँले आफ्नो जिन्दगी नै राजनीतिमा समर्पित गर्नुभयो, काम गर्ने अवसर भने धेरै पाउनुभएन भन्ने लाग्छ। उहाँ जनताको दुःखसुखसँग निकट हुनुहुन्छ, सायद त्यही भएर धेरै मानिस उहाँलाई राम्रो नेता मान्छन्।’

गगन पनि कम भने हैनन्। अञ्जनाकै शब्दमा, उनी ‘नयाँ पुस्ताका हिरो’ हुन्।

‘सबैलाई सम्मान गर्नु र सबैलाई स्पेसल फिल गराउनु उसको सबभन्दा ठूलो गुण हो,’ उनको भनाइ छ, ‘मान्छेको सपना र चाहनालाई बुझ्नसक्ने मात्र नेता हुन्छ, यस मानेमा गगन साँच्चै नयाँ पुस्ताको नेता हो।’

दुवैका आ–आफ्नै खुबी र विशेषता भए पनि अञ्जनाका लागि दुवै बराबर छन्। उत्तिकै योग्य छन्। र, महामन्त्री पदका उत्तिकै हकदार पनि छन्।

सायद त्यही भएर, अञ्जनाले न आफ्ना पितासँग यो प्रतिस्पर्धाबारे सोधिखोजी गरिन् न त आफ्ना पतिलाई नै ‘बाबाविरुद्ध किन उठेको’ भनेर सोधिन्।

आफ्ना पिता र पतिको राजनीतिक जीवनको यति महत्वपूर्ण लडाइँमा न उनी पतिलाई साथ दिन सक्थिन् न पितालाई। न पतिको जितको कामना गर्न सक्थिन् न पिताको।

पतिलाई सम्झिँदा लाग्थ्यो, उनले जित्नैपर्छ, उनीसँग देश र पार्टीलाई उन्नतितिर बढाउने सपना छ, लगन छ।

पितालाई हेर्दा लाग्थ्यो, उनले पनि त जिन्दगी समर्पण गरेका छन् कांग्रेसका लागि। उनको पनि त आफ्नै मूल्य–मान्यता छ, क्षमता छ, लामो अनुभव छ।

उनी दुवैको विजय चाहन्थिन्, जुन चुनावी प्रतिस्पर्धामा सम्भवै थिएन।

‘घरव्यवहारका सामान्य कुरामा रमाइरहेका बेला एकाएक आफ्नै मान्छेहरूको राजनीतिक जीवनले मलाई असामान्य अवस्थामा पुर्याइदियो,’ अञ्जनाले भनिन्, ‘मैले के गर्ने, के भन्ने मेसै पाइन।’

गगनको पक्षमा समर्थन उर्लिएको देख्दा उनी खुसी हुन्थिन्। घर आउने साथीभाइले गगनको जितको कामना गरेको सुन्दा उनी फुरुंग पर्थिन्। पतिको लोकप्रियताले उनको शिर उँचो हुन्थ्यो। त्यही घडी बाबाको सम्झनाले मनमा गाँठो पनि पथ्र्यो। उनलाई लाग्थ्यो, कसैले उनीसामु आएर बाबाको जितको पनि कामना गरिदिए हुन्थ्यो!

यही उधेडबुनमा कति त उनलाई भन्नधरि आए, ‘तिमीले गगनकै सपोर्ट गर्नुपर्छ।’

‘मानिस बुझ्दैनथे, म गगनको पक्ष लिएर बाबाको हारको कामना कसरी गर्न सक्छु!’ उनले भनिन्, ‘गगन मेरो पति हो, उसँग मेरो जिन्दगी जोडिएको छ, तर म यो कसरी भुल्नसक्छु, मलाई आफ्नो रगत र पसिनाले सिँचेको त बाबाले न हो! अहिले म गगनकी अञ्जना भएकी छु, सबैले मन पराएको लोकप्रिय नेताकी पत्नी भएकी छु, तर म यो कसरी भुल्नसक्छु, मलाई अञ्जना बनाउने त बाबा न हो!’

गगनले उम्मेदवारी घोषणा गरेको दिन उनी गह्रौं मन लिएर माइती गएकी थिइन्, गोंगबु। त्यहाँ बाबासँग आँखा जुधाउन पनि गाह्रो पर्यो उनलाई। सधैंजस्तो बाबाछोरी भेटे। आँखा–आँखा बोले, शब्द गायब भयो।

मुटुमा भुइँचालो आउँदा मस्तिष्क कसरी शून्य भएर शब्द विलीन हुँदो रहेछ भन्ने उनले जिन्दगीमा पहिलोचोटि चाल पाइन्। 

‘मलाई पहिलोपटक राजनीतिलाई बेवास्ता गरेकोमा पछुतो लाग्यो,’ उनले भनिन्, ‘सुरुदेखि नै उनीहरूको राजनीतिमा चासो राखेकी भए सायद दुवैलाई मिलाउन सक्थेँ कि!’

एकदिन टेलिभिजन अन्तर्वार्ता क्रममा अर्जुननरसिंहलाई सोधियो, ‘ज्वाइँ भनेको त दसौं ग्रह हो भन्छन् नि, तपाईंलाई पनि त्यस्तै भयो है?’

यो प्रश्नले अर्जुननरसिंहको मनमा कति गाँठो पर्यो थाहा छैन, घरमा टेलिभिजन हेरिरहेकी अञ्जनालाई भने आकाशै खसेर थिचेजस्तो भयो। उनको मुटु नै छियाछिया पार्ने गरी तीर रोपियो। यस्तो लाग्यो, उनी ती अभागी छोरी हुन्, जो पिताको लाञ्छनाको कारण बनेकी छन्।

र, सँगसँगै पिताप्रति कृतज्ञ पनि छिन्, जसले व्यक्तिगत आक्षेपलाई राजनीतिक र सैद्धान्तिक उत्तरमा सहजै टारिदिए।..

मतगणनाको दिन अञ्जनाले फोन र इन्टरनेट बन्द गरेर आफूलाई काममै व्यस्त राखेकी थिइन्। अघिल्लोचोटि जस्तो कसले कति मत पाए भन्नेमा उनलाई कुनै ध्याउन्न थिएन। 

जसको भागमा जति परे पनि खोसिने भाग आखिर उनकै थियो!

बेलुकी घर आएपछि मात्र उनले थाहा पाइन्, दुवै चुनाव हारेछन्। त्यही साँझ उनी गोंगबु गइन्। बाबालाई भेटेर गम्लङ्ग अंगालो मारिन्। र, रुन्चे स्वरमा भनिन्, ‘सरी बाबा!’

उनको मनको उफान अलि हल्का भयो। उतिन्खेरै गगनको पिरले खङ्रङ्ग पार्यो।

उनी घर फर्किन्। बेलुकी गगन आइपुगे। आउनेबित्तिकै उनले अञ्जनालाई अंगालो मारे। र, भने, ‘सरी। तिम्रो मनोदशा म बुझ्छु, मैले तिम्रो मन दुखाएँ।’

थाहै नपाई अञ्जनाका आँखा रसाइसकेछन्।

More

रेडियो परिवार

More

नयाँ भिडियो