दोस्रो चरणको निर्वाचन असार ९ गते हुने
काठमाडौं, जेठ १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव असार ९ गते हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव असार ९ गते गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ३१ गते हुने भनिएको चुनाव मधेसी दललाई पनि सहमतिमा ल्याउन भन्दै असार ९ गतेलाई सारिएको हो । चुनावको मिति सार्ने तीन दलबिच सहमति भएको थियो । चुनावको नयाँ मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगसँग छलफल गरेपछि आज बसेको मन्त्रीपरिषद्को बैठकले नयाँ मिति तोकेको हो ।
सरकारले शुरुमा वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने घोषणा गरेपनि मधेसी दललाई सहमतिमा ल्याउन भन्दै दोश्रो चरणको चुनाव जेठ ३१ गते गर्ने निर्णय गरेको थियो । तर जेठ ३१ गतेको चुनावमा सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले फेरि मिति सारेको हो ।