राजधानीको लागि प्रतिवेदन आज
यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो । काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगत स्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो । ‘औचित्यका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो । ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भए पनि सभामा यसबारे छलफल अघि नै नबढाएपछि ३८ सांसदको हस्ताक्षरसहित सचिवालयमा निवेदन दर्ता भएलगत्तै समिति गठन भएको थियो । ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालीन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, तत्कालिनत माओवादी केन्द्रका विशाल खड्का र जगत सिंखडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसांई, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य रहेका छन् ।